Loading...

Thursday, March 10, 2011

कोरियाली क्रेज नेपालमा पनि

काठमाडौं, धरान र पोखराजस्ता स्थानमा साधारण बोलचालमा आफ्ना साथीसंगीबीच कोरियन भाषा उही लवजमा बोल्नेहरूको पनि कमी छैन। पोस्टर, कि-रिङ, ड्रेसअप, हेयर स्टाइल, यतिसम्म कि कोरियन गीत पनि खोजी-खोजी सुन्न थालिएको छ। अहिलेका युवाहरू कोरियन चलचित्र तथा कोरियन  कलाकारले लगाएका पहिरनबाट प्रभावित छन्। बटन धेरै हुनु कोरियन पहिरनको विशेषता नै हो । बटनले सजिएको कोरियन ज्याकेटमा ठाँटिएका नेपाली युवतीहरू बाटोमा भेट्न कुनै गार्‍हो छैन । टो पी र लङ बुट पनि छुट्दैन । युवाहरू पनि कोरियन ज्याकेटमा मख्ख छन् । युवापुस्तामा कान र निधार ढाक्ने चुस्स केश, कसिलो...

पाइन्ट र सर्ट लोकप्रिय  छ । यसलाई एसियन लुक्स पनि भन्न पछि पर्दैनन् नेपाली फेसनक्रेजीहरू । खासगरी कोरियन चलचित्रको प्रभावमा लठ्ठ टिनएजर पुस्ताले कोरियन  नायक नायिकाको फेसन शैलीलाई पछयाएर आफूलाई पनि त्यस्तै लुक्समा ढालेका छन् । उनीहरूलाई कोरियन फेसनसँगै कोरियन भाषाले पनि त्यत्तिकै  तानेको छ । हुँदा-हुँदा उनीहरूको जीवनशैली नै कोरियन बनेको छ ।

'छेसोङ्गमिता' मुडुलो टाउको, मंगोलियन अनुहार त्यसमाथि कोरियन गेटअपमा सजिएकी कलंकीकी अंशु लामा कफी हाउसमा साथीलाई भनिरहेकी  थिइन् । यसको अर्थ उनी आफ्ना साथीहरूसँग कुनै कुरामा क्षमा मागिरहेकी थिइन् । कोरियन स्टाइलमा ठाँटिएर कोरियन भाषा नै बोलिरहेकी लामा  आफूलाई कुनै कोरियन युवतीभन्दा फरक नभएको सम्झिरहेकी देखिन्थिन् । 

अहिले कोरियन फेसनमा ठाँटिएर हिंड्ने युवा निकै छन् । टिनएजर युवा कोरियन स्टाइलमा हिंड्ने भएकाले उनीहरू कोरियन नै हुन् कि भन्ने पनि लाग्न  सक्छ । उनीहरूले आफूलाई कोरियन पहिरन एवं लुक्समा फिट एन्ड फाइन बनाउने गरेका छन् । कोरियन चलचित्रमा बढी झुकाव भएकाले पनि  युवापुस्ताले कोरियन फेसनमा आफूलाई यसरी ढालेका हुन् । राम्रा कोरियन चलचित्र तथा कोरियन कलाकारको फेसनले पनि उनीहरूलाई कोरियन शैली  पछ्याउन सघाएको छ । 

काठमाडौं, धरान र पोखराजस्ता स्थानमा साधारण बोलचालमा आफ्ना साथीसंगीबीच कोरियन भाषा उही लवजमा बोल्नेहरूको पनि कमी छैन । पोस्टर,  कि रिङ, ड्रेस अप, हेयर स्टाइल, यतिसम्म कि कोरियन गीत पनि खोजी-खोजी सुन्न थालिएको छ । अहिलेका युवाहरू कोरियन चलचित्र तथा कोरियन  कलाकारले लगाएका पहिरनबाट प्रभावित छन् । बजारमा कोरियन चलचित्र तथा टेलिश्रृंखला सहज रूपमा उपलब्ध छन्, जसको सहजता र पहुँचले पनि  युवापुस्ता कोरियन जीवनशैली अपनाउन लालायित देखिन्छ । राम्रा सपिङ सेन्टरमा पनि उनीहरूको यो झुकावलाई मध्यनजर गर्दै कोरियन पहिरनहरू  बिक्रीमा राख्न थालिएको छ । 

आफूलाई कोरियन चलचित्र नै मन पर्ने धरानका विपिन मगर बताउँछन् । कोरियन चलचित्रमा राम्रा-राम्रा फेसन हेर्न पाइने भएकाले पनि कोरियन चलचित्र हेर्ने गरेको उनले बताए । मगर भन्छन्, 'मलाई कोरियन चलचित्र एकदमै मन पर्छन्, फेसनका लागि पनि हेर्छु ।' काठमाडौंकी प्रनिता श्रेष्ठ नयाँ  कोरियन टेलिश्रृंखला आउनेबित्तिकै लिन पुगिहाल्छन् । कोरियन फेसन र चलचित्रको मज्जा छुट्टै हुने भएकाले उनी कुनै पनि कोरियन टेलिश्रृंखला हेर्न  छुटाउँदिनन् । श्रेष्ठ र मगरजस्ता कोरियन टेलिश्रृंखला एवं चलचित्र हेर्ने दर्शकहरू दिन-प्रतिदिन बढिरहेका छन् । 

कोरियन चलचित्र एवं टेलिश्रृंखला हेर्नेहरूमा प्लस टुका विद्यार्थी, युवायुवती साथै गृहिणीहरू बढी छन् । सबै खालका टेलिश्रृंखला बजारमा पाइए पनि  फेसनकै लागि कोरियन टेलिश्रृंखलाको मागचाहिँ अत्यधिक रहेको न्युरोडस्थित म्युजिक डट प्वाइन्टका विक्रेता आशिष श्रेष्ठ बताउँछन् । 'अंग्रेजी, हिन्दी,  जापनिज टेलिश्रृंखलाको तुलनामा कोरियन टेलिश्रृंखलामै दर्शकको मन तानिएको छ,' उनले भने, 'कोरियन फेसनका लागि पनि कोरियन चलचित्र एवं टे लिश्रृंखलाको माग बढेको हो ।' बजारमा कोरियन टेलिश्रृंखलाको माग अत्यधिक छ । त्यसैले पनि अहिले साना-ठूला सबैजसो भिडियो पार्लरले कोरियन  चलचित्र एवं टेलिश्रृंखला उपलब्ध गराइरहेका छन् । 

कोरियन टेलिश्रृंखलाहरूमध्ये 'स्विट एटिन,' 'आई एम सरी आई लभ यू', 'माइ गर्ल' नेपालमा निकै लोकप्रिय छन् भने अन्य कोरियन टेलिश्रृंखलाहरू  'स्यासी गर्ल', 'रोमान्स', 'क्रेजि फर यु ' 'प्रिन्स हाउस' तथा 'द सेक्रेट लभर्स पनि लोकप्रिय नै मानिन्छन् । नयाँ राम्रा टप टेन कोरियन टेलिश्रृंखलामा 'माई गर्ल फ्रेन्ड ईज अ गुमिहो', 'पर्सन आई लभ', 'म्यारी स्टेड आउट अल नाईट',  'फूल हाउस', 'पर्सनल टेस्ट', 'सेक्रेट क्याम्पस', 'यु आर ब्युटिफूल', 'प्लेफूल किस', 'माई गर्ल', 'बोइज विफोर फ्लावर' छन् भने 'लब स्टोरि इन हर्वड',  'अ लभ टु किल', 'लभ लेटर्स' पनि उत्तिकै राम्रा कोरियन टेलिश्रृंखला हुन् । 

चलचित्रमा 'सटर', 'माई स्यासी गर्ल', 'बेबी एन्ड मी', 'म्यारिङ अ हाई स्कुल गर्ल', 'माई टटर फ्रेन्ड', 'कमिङ सुन', 'डेथ नोट', 'अ मोमेन्ट टु रिमेम्बर', 'द क्लासिक', 'मिलेनियर फस्ट लभ' सफल  कोरियन चलचित्र हुन् । डिभिडीमा उपलब्ध प्रायःजसो टेलिश्रृंखला १७ घण्टादेखि २० घण्टासम्मका छन् भने चलचित्र अन्य चलचित्रझैं दुई-अढाई घण्टाका  हुन्छन् । लामो समय लाग्ने टेलिश्रृंखला हेर्न एक हप्तासम्म लाग्न सक्छ । राम्रो टेलिश्रृंखला भए क्रेजीहरूले एक दिनमै पनि हेरिसक्छन् ।

कोरियन चलचित्रमा कलाकारको पहिरन विशेष हुन्छ, जुन नेपाली युवापुस्ताले निकै मन पराएको छ । हेयर स्टाइल त भयो भयो ड्रेस अप र दैनिक  क्रियाकलाप पनि कोरियन बनाउन तम्सनेहरू कम छैनन् । हिजोआज कोरियन चलचित्रका नायक-नायिका छानेर चलचित्र हेर्नेहरू पनि बढ्दै गएका  छन् । म्युजिक डट प्वाइन्टका आशिष श्रेष्ठ भन्छन्- 'अहिले त हिरो-हिराइनको नाम लिएरै नयाँ-नयाँ कोरियन चलचित्र माग्छन् ।'कोरियन टेलिश्रृंखलाहरू प्रेमकथामा आधारित तथा रोमान्टिक हुने भएकाले टिनएजर्सहरू त्यसतर्फ आकर्षित भएका हुन् । कमेडी, लभस्टोरी, हरर तथा  थ्रिलरमा उपलब्ध कोरियन चलचित्रले युवापुस्ताको मन चोरिरहेको छ । यसबाहेक कोरियन चलचित्रको प्रिन्ट क्वालिटी राम्रो हुनु, सब टाइटल, प्रस्तुति  आकर्षक हुनु, कमेडीका साथै फेमीली ड्रामा हुने भएकाले पनि कोरियन चलचित्रमा युवापुस्ताको मोह बढेको हो । 

नेपालमा कोरियन टेलिभिजन पनि प्रसारण हुन थालेपछि युवापुस्ताको यो आकर्षणमा अझ वृद्धि भएको छ । न्यू अनिकेष डिभिडी सेन्टर महाबौद्घका प्रो प्राइटर अनिल श्रेष्ठ भन्छन्- 'कोरियन च्यानल प्रसारण हुन थालेपछि कोरियन चलचित्रको माग अझ बढेको छ ।' कोरियन च्यानलले नयाँ कोरियन  चलचित्रको प्रोमो प्रसारण गर्ने भएकाले पनि अहिले नयाँ कोरियन चलचित्र खोज्नेहरू बढेका छन् । 

कोरियन चलचित्र एवं टेलिश्रृंखला काठमाडौंमा सबैभन्दा बढी खपत हुने गरेको छ । त्यसपछि धरान र पोखरा बढी कोरियन चलचित्र खपत हुने स्थान  हुन् । यसबाहेक दमक तथा बुटवल पनि कोरियन चलचित्रका राम्रा बजार हुन् भने यी चलचित्र नेपालबाट भुटान पनि पुग्ने गरेको विक्रेताहरू बताउँछन् । 

केही वर्षअघि कान्तिपुर टेलिभिजनबाट कोरियन टेलिश्रृंखला 'हिउँदका प्रेमकथाहरू' प्रसारण भएको थियो । त्यतिबेला उक्त टेलिश्रृंखलालाई धेरै दर्शकले  मन पराएका थिए । यही मेसोमा नेपालमा कोरियन चलचित्र तथा टेलिचलचित्रको लोकप्रियता बढेको मान्न सकिन्छ । अहिले कोरियन च्यानल आरिराङ  नेपालमा पनि प्रसारण हुन थालेपछि कोरियन श्रृंखला तथा चलचित्रको माग ह्वात्तै बढेको हो । 

कहाँबाट आउँछन् ?

बजारमा कोरियन चलचित्रको माग बढ्दो छ । यसका लागि व्यवसायीहरूलाई पनि भ्याइनभ्याइ छ । पुराना कोरियन चलचित्र पनि सकिएपछि उनीहरूले  विभिन्न तरिकाले भए पनि कोरियन चलचित्रको माग पूरा गरिरहेका छन् । कोरियन चलचित्र कहाँबाट ल्याइन्छ भन्ने जिज्ञासा पनि छ । मुख्यतः नेपालमा  आएका कोरियन चलचित्र पुराना हुन् । नयाँ कोरियन चलचित्र पाउन गाह्रो छ । नेपालमा भएका कोरियन चलचित्रहरू वेबसाइटको माध्यमबाट उपलब्ध  हुने गरेका छन् । टोरेन्ट डट कम तथा यू ट्युवको माध्यमबाट डाउन लोड गरेर कोरियन चलचित्रको व्यापार हुने गरेको छ । नयाँ कोरियन चलचित्रको  कपी भने चीनको ग्वान्जाउबाट ओरिजिनल डिभिडी ल्याएर तयार पारिने एक व्यवसायी बताउँछन् । कोरियाबाट नेपाल फर्किएका साथीभाइहरूले  ल्याएको कोरियन चलचित्रका सिडी पनि कपी गरेर बेच्ने गरिएको छ । 

एउटा डिभिडीको ३० देखि ३५ रुपैयाँसम्म पर्छ । काठमाडौको महाबौद्ध कोरियन चलचित्र बिक्री-वितरणको मुख्य थलोका रूपमा चिनिन्छ । महाबौद्धमा  देशका विभिन्न स्थान रहेका भिडियो पार्लरबाट माग आएपछि चलचित्र वा टेलिश्रृंखलाका डिभिडी तयार गरेर पठाइन्छ । एउटा कोरियन चलचित्र  कम्तीमा दुई हजार प्रति बिक्री हुने व्यापारीहरू बताउँछन् । कोरियन चलचित्र यहाँबाटै देशका विभिन्न स्थानमा अर्डर अनुसार पठाइन्छ ।स्रोत: साप्ताहिक 

0 comments:

Post a Comment

Namastesansarglamour © 2008. Design by :Salim Subba Sponsored by: Tutorial87 Commentcute